भारतीय प्रहरीको रेड कर्नर नोटिसमा २६ नेपाली, अपराधी समात्न इन्टरपोलको सहयोग (नाम सहित)


काठमाडौं- भारत सरकारले हत्या, मानव बेचविखन, बैंकिङ ठगी, कीर्ते, चोरी, लुटपाट जस्ता घटनामा संलग्न  भई फरार रहेका २६ नेपालीको नाम रेड कर्नर नोटिस जारी गरेको छ । भारत सरकारले अपराध गरेर फरार २६ जना नेपालीलाई पक्राउ  गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेको छ । इन्टरपोलका १ सय ९२ सदस्य राष्ट्रमा नेपाल पनि पर्छ ।

भारतमा अपराध गरेर रेड कर्नर सूचीमा पर्ने नेपालीमा राजेश थापा क्षेत्री,  मोहम्मद नुर अन्सारी, सूर्य बहादुर तामाङ, मनोज करण जैगडी, कृष्ण बहादुर औजी, राजेश भागदुर, रमेश भागदुर, प्रेम सिंह, माधवी श्रेष्ठ, विनिता प्रधान, हरिहर भुषाल, चित्रइन्द्रा सभाद, खुमराज थापा, शिवराज फुलचन्द शर्मा, राजबहादुर शाही, नानु मगर शिवराज, भिमे दमाई, तुलराम बहादुर, वीरेन्द्रबहादुर थापा, राजेश बहादुर, देवी ओली, चक्रसिंह ठकुरी, अनुप प्रधान, विपिन बिष्ट र तहिर साह रहेका छन् ।

यीनिहरुमध्ये वीरेन्द्रबहादुर थापा, राजेश बहादुर खुमराज थापा, चित्रइन्द्रा सभाद, कृष्ण बहादुर औजी, राजेश थापा क्षेत्री, मनोज करण जैगडी, राजेश भागदुर, रमेश भागदुर र प्रेम सिंहमाथि चोरी गरेको अभियोग छ ।

५९ वटा वन्यजन्तु मारेको अभियोगमा चिनियाँ मुलका नेपाली नागरिक टासी टेसिङलाई भारतीय प्रहरीले खोजी गरिरहेको छ ।

मोहम्मद नुर अन्सारीलाई नक्कली तथा सक्कली नोटको कारोबार, हुण्डी कारोबार मार्फत आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप छ । उनी पनि फरार सूचीमा छन् । ४० वर्षीय सूर्य बहादुर तामाङले हत्या, लुटपाट चोरी जस्ता जघन्य आपराधिक गतिविधि गरेको पाइएको छ । विभिन्न सुरक्षा निकायको नक्कली डकुमेन्ट बनाउने तथा बेच्ने गरेको खुलेपछि माधवी श्रेष्ठ, विनिता प्रधान र हरिहर भुषाल भारतीय प्रहरीको रेड कर्नर सूचीमा छन् । चक्रसिंह ठकुरी विपिन बिष्ट र तहिर साहमाथि हत्या गरेको अभियोग छ । ३३ वर्षीय देवी ओली अपहरणकारी भनेर भारतीय प्रहरीकोमा रेकर्ड छ । पाल्पाका अनुप प्रधानमाथि किर्ते गरेको अभियोग लागेको छ । उनलाई भारतीय प्रहरीले रेड कर्नर सूचीमा राखेर खोजी गरिरहेको छ ।

नेपाल पनि अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको एक सदस्य भएका नाताले अब यी अपराधी सूचीमा रहेका नेपालीको खोजी गरेर पक्राउ  गरेर भारत सरकारलाई बुझाउन पर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement