भरतपुर विमानस्थल विस्तारः सेनाको ब्यारेक सार्ने तयारी


चितवन – भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेक सर्ने भएको छ । भरतपुर विमानस्थल विस्तार हुने भएपछि भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति भएको हो ।

‘नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘सेनाको घोडा फर्म (प्रजनन केन्द्र) समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।’

भरतपुर विमानस्थल विस्तारको योजना संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर छलफल गरेकी हुन् ।

छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाको एयर बेस र जलिस्टिक राख्न दिनुपर्ने बताए । सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्तारको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाई छ ।

त्यस्तै बाग्मती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्नु आजको आवश्यकता भएकाले सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गरेका थिए । विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement