मालाखेतीका डीएसपी चौधरीः रातभरी हराए, बिहान आफैं सम्पर्कमा आए


धनगढी – होटलमा युवतीसँग बसेका भनिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी जिल्ला तानिएका छन् । डीएसपी चौधरीमाथि छानबिन गर्न जिल्ला तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी हिजोराति एकाएक सम्पर्कबिहीन भएका थिए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।

रातभरी सम्पर्कविहीन भएका चौधरी बिहान सम्पर्कमा आएको एसएसपी सिंहले जानकारी दिए । उनले आफू ड्युटीमै रहेको र टेलिफोनको नेटवर्क नभएको बताएको जानकारी दिए । डीएसपी चौधरी एक्लै हराएकाले युवतीसँगै होटलमा बसेको आशंका गरिएको छ ।

‘हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन खाजी गर्ने क्रममा उहाँ बिहान स्वयं सम्पर्कमा आउनु भयो । उहाँले म ड्युटीमै थिएँ अलिक नेटवर्क नभएको ठाउँ भएकाले यस्तो हुन गएको हो भनेर उनले भनेका छन्’, एसएसपी सिंहले भने ।

उनले समाचारमा आएजस्तो होटलबाट समातिएको विषयमा सत्यता नभएको बताएका छन् । एसएसपी सिंहकाअनुसार उनी युवतीसहित फेला नपरेकाले अनुसन्धानबाटै पत्ता लाग्ने बताएका छन् । डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर एसपीले सोधपुछ गरिरहेको उनले जानकारी दिए ।

उनी ड्युटीमा खटिएका थिए वा लापरवाही तरिकाले ड्युटी छोडेर कतै गएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनी ड्युटी छोडेर बाहिर गएको खुलेमा प्रहरी नियमावलीअनुसार कारबाही गरिनेछ । यदी गल्ती गरेको ठहर भएमा तल्लोतहमा घटुवा गर्नेलगायतका कारबाही गरिने सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement