काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ ।
आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको मौसम पूर्वानुमान महासंघले जनाएको छ ।
बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र बुधबार देखि नेपालमा पनि आंशिक रूपमा परेको महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले आगामी तीन दिन देशभर वर्षा बढ्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ।
बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्छ।
बिहीबार वर्षा थप सक्रिय हुने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
शुक्रबार पनि देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपात र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै आज ताप्लेजुङ, पाँचथर, इलाम , झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर ,रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, कास्की लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।





प्रतिक्रिया