काठमाण्डु– देशभर वर्षा भइरहेका बेला आज विभिन्न नदी तथा खोलानालामा पानीको बहाब बढ्ने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङलगायत जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाब हाल सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्तीलगायत नदीमा पनि बहाब सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ।
महाशाखाले काठमाण्डुसहित ६५ जिल्ला तथा आसपासका क्षेत्रमा बहने ससाना नदीमा समेत बहाब उल्लेख्य बढ्न सक्ने जनाएको छ। तर वर्षा जारी रहेकाले यी नदीको बहाब क्रमशः बढ्दै जाने सम्भावना रहेको महाशाखाको भनाइ छ।
तीमध्ये ताप्लेजुङदेखि कालीकोटसम्मका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व–पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालीकोटमा ससाना नदी तथा खोलाको बहाब उल्लेख्य बढ्न सक्नेछ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





प्रतिक्रिया