काठमाण्डु– नेपालले पछिल्लो ९ महिनामा ६२ अर्ब बराबरको भटमासको तेल निर्यात गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको ९ महिनामा नेपालले ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको भटमासको तेल निर्यात गरेको हो ।
नेपालले ९ महिनामा कुल १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ ।
त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । ९ महिनामा ९ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सुर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।
प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अङ्कसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा मात्र निर्यात ६५.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात १ खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।
नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरुमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट ८ अर्ब ९ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची ६ अर्ब २६ करोड ९ लाख बराबरको निर्यात भएको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको घाटा व्यहारेको छ । यो अवधिको कुल वस्तु निर्यात १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख बराबरको छ ।
प्रतिक्रिया