बाबुराम भट्टराईकाे अाराेप -सिके राउत र रेमश चौधरी प्रकरणमा सरकारले दोहोरो चरित्र देखायो


राजविराज – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विद्रोही र विद्रोहलाईभन्दा यसको कारणलाई निमिट्यान्न पार्न लाग्नुपर्नेमा जोड दिएका छन् ।मंगलबार बिहान सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले असन्तुष्टिका कारण विद्रोह बढेकोले असन्तुष्टिका कारणहरु हटाउन सरकार लाग्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण भएको असन्तुष्टिले पैदा गरेको विद्रोह भएको बताए । उनले असन्तुष्टिहरुलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता विद्रोहहरु थप बलियो भएर जाने धारणा राखे ।

‘क्यान्सरको उपचार झारफुक गरेर हुँदैन । अप्रेसन नै गर्नुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भए, कार्यपालिका लाचार छायाँ जस्तै भए,’ भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ।

अधिकारसम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गरी उनीहरु सिधै निर्वाचित प्रतिनिधिसभाप्रति उत्तरदायी हुनुपर्ने उनको धारणा थियो । ‘त्यस्तो लोकपालले मात्र कार्यपालिका र न्यायपालिकामा रहेका भ्रष्टाचारीलाई सिधै कारवाही गर्न सक्छन्,’ उनले भने, ‘त्यसो हो भने, भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। नभए गाह्रो छ।’ बेलैमा नियन्त्रण गर्न नसकिए भ्रष्टाचारले नेपालको अर्थतन्त्रलाई धरासायी बनाउने बताए ।

विप्लव समूहलाई जनअसन्तुष्टिपछिको विद्रोहको एउटा प्रतिकको संज्ञा दिँदै उनले भने, ‘जनताको चाहना अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सृजना गरिएन भने जनतामा विभिन्न खाले असन्तुष्टि पैदा हुन्छ। यो संसारमै पनि देखिन्छ। नेपालमा पनि यसको उदाहरण छ ।’

विद्रोहीलाई रोक्ने विकल्प विकास र समृद्धि नै रहेको उनको धारणा थियो । ‘दुईतिहाईको बहुमत प्राप्त सरकारले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर देशको साधनस्रोतका प्रयोग गरी तिब्र आर्थिक विकास र समृद्धी ल्याउनुपर्छ र बेरोजगारलाई रोजगार र सबैलाई सामाजिक न्यायको प्रत्याभूति दिलाउन सकेमात्र यस्ता विद्रोहको औचित्य समाप्त हुन्छ र सेलाएर जान सक्छ । उनले अगाडि थपे, ‘तर सरकारले काम गर्न सकेन र भ्रष्टाचार कायमै रह्यो भने यस्ता असन्तुष्टिहरुले विद्रोहको रुप लिन सक्छ।’

उनले सरकारलाई प्रतिवद्धताअनुसारको काम गर्न र विप्लवसँग वार्ता गर्न सुझाव दिए । काण्डैकाण्डमा फसेर विद्रोही दबाउन नसकिने उनको तर्क थियो । उनले भने, ‘अहिलेको सरकार एनसेल काण्ड, वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड लगायतका काण्डैकाण्डमा फसेको छ। जसले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ।’

एक फरक प्रसंगमा डा. भट्टराईले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीप्रति सरकारले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाए । उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास हुने ?’ उनले टिकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएपनि टिकापुर घटना राजनीतिक विद्रोह भएकाले सोही अनुरुप व्यवहार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement