काठमाण्डु- नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले व्यहोरेको हार अस्थायी धक्का मात्रै भएको बताएकी छन्।
उनले एउटा निर्वाचनको परिणामले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छन्।
एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा व्यहोर्नुपरेको पराजयबाट निराश हुनुपर्ने अवस्था नरहेको बताइन्। हारबाट पाठ सिक्दै कमजोरी सच्याएर आगामी स्थानीय तहलगायतका निर्वाचनको तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो।
एघार वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीको राष्ट्रिय भेलामा यो पहिलो सम्बोधन हो। ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ’, उनले भनिन्।
सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै भण्डारीले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन्।
राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले अब कुनै पदप्रति आफ्नो लोभ नरहेको बताइन्। ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन’, उनले भनिन्।
समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै भण्डारीले देशको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको बताइन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको उनको टिप्पणी थियो। समयमै समस्याको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनले चिन्ता व्यक्त गरिन्।
पार्टी शुद्धीकरण, संगठनात्मक सुधार र जलवायु न्यायका विषयमा पनि उनले धारणा राखिन्। जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा लागू गर्नुपर्ने उनको भनाइ थियो।
आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगीपूर्ण जीवनशैली अवलम्बन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिइन्।
त्यसैगरी, युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन्। निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिइन्।



प्रतिक्रिया