भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दो

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बर्सेनि बढ्दो क्रममा छ ।

अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको संख्या बढ्दै गएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले ६ हजार ५९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६०८ जनाले सुत्केरी सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा कूल प्रसूति संख्यामध्ये ४ हजार १४५ जनाले सामान्य तरिकाले बच्चा जन्माएका छन् । जटिल अवस्थाका लागि प्रयोग गरिने भ्याकुम तथा फोर्सेप प्रविधिबाट २०५ र जटिल वा जोखिमयुक्त अवस्थामा शल्यक्रियामार्फत २ हजार २४७ जनाको प्रसूति गराइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रियामार्फत हुने प्रसूतिका घटना उल्लेखनीय रूपमा वृद्धि भएको अस्पतालका प्रमुख डा. दर्नालले बताए ।

‘भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दूरदराजबाट अन्तिम अवस्थामा रेफर भएर आउने प्रमुख थलो हो,’ उनले भने, ‘प्रसूतिका दौरान हुनसक्ने जोखिम कम गर्न दक्ष जनशक्ति, आधुनिक प्रसूति उपकरण, प्रभावकारी एनआईसीयू र आकस्मिक सेवा प्रणालीलाई अझ बढी सुदृढ र प्रविधिमैत्री बनाउँदै लगिएको छ ।’

अहिले गाउँघरका स्वास्थ्य चौकी वा निजी क्लिनिकमा लामो समय प्रयास गरेर जटिल बनेपछि मात्र भेरीमा पुर्‍याउने परम्पराले उपचारमा कठिनाइ हुने गरेको उनको भनाइ छ ।