‘पावरफूल’ ठेकेदारको बदमासी, जोगबुढा-बुडर सडकको कालोपत्रे दुई दिनमै उप्कियो


टक खाती, काठमाण्डु-  डडेल्धुराको आलिताल गाउँपालिकास्थित जोगबुढा-बुडर सडकखण्डमा गरिएको कालोपत्रे दुइ दिनमै उप्किएको छ । निर्माण कम्पनीले लापरबाही गरी गुणस्तरहीन काम गरेकाले कालोपत्रे दुई दिनमै उप्किएको हो ।

यो सडकखण्ड कालोपत्रे गर्नका लागि ठेकेदार भीमबहादुर साउदको राजेन्द्र निर्माण सेवा कम्पनीले २०७४ सालमा ६८ करोड ५५ लाखको ठेक्का सम्झौता गरेको थियो ।

कालोपत्रे गरिसक्नका लागि पुस मसान्तसम्म म्याद रहेको छ । जसअनुसार जोगबुढा-बुडर सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । तर, निर्माण कम्पनीको चरम लापरबाहीले गोदामदेखि मौरीसम्म गरेको कालोपत्रे दुई दिन नबित्दै उप्किएको छ ।

कालोपत्रे उप्किएपछि ठेकेदार तथा नेपाली कांग्रेसका नेता साउदको चौतर्फी आलोचना भइरहेको छ । चौतर्फी आलोचना भएपछि नचिप्किएको गिट्टी मध्यरातमा उठाइसकेका छन् । यो सडकमा गरेको कालोपत्रे हेर्दा ठेकेदारले चरम लापरबाही गरेको देखिन्छ ।

पुस ३० गतेभित्र जसरी पनि काम सक्न अल्टिमेटम दिएकाले ठेकेदारले गुणस्तरहीन काम गरेको हुनसक्ने विकास पूर्वाधार कार्यालय डडेल्धुराका निमित्त प्रमुख नवराज रावलले जानकारी दिएका छन् ।

‘तिनीहरुले पहिला काम गरेनन् । त्यतिबेला ठेकेदारको लापरबाहीले काम भएन । मैले पुस मसान्तसम्म काम सक्न अल्टिमेटम दिएको छु । काम त हामी जसरी भएनी गराउछौँ’, उनले भने ।

राजेन्द्र निर्माण सेवा कम्पनी कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदको हो । साउद परशुराम नगरपालिकाका पूर्वमेयर पनि हुन् । साउद राजनीतिक हिसावले पावरफूल व्यक्ति मानिन्छन् । तर, साउदले राजनीतिक पहुँजको भरमा ठेक्का लिएर योजना अलपत्र पार्ने काम गर्छन् । साउदले लिप्ना-गाइबादे सडकखण्ड पनि अलपत्र पारेका छन् ।

साउदको कम्पनी राजेन्द्र शर्मा जेभीले दैजी-जोगबुढा सडकखण्ड अन्तर्गतको लिप्ना-गाइबादे सडक कालोपत्रेका लागि २१ करोड ३६ लाखको ठेक्का पाएको थियो । उक्त सडकखण्डमा कालोपत्रेका लागि गत असार मासान्तसम्म म्याद थियो । तर, साउदको कम्पनीले ३० प्रतिशतमात्र काम गरेर योजना अलपत्र पारेको छ ।

साउदको कम्पनीले डडेल्धुरामा मात्र नभइ देशभर नै दर्जनौँ योजना अलपत्र पारेको छ । पटक-पटक ताकेता गर्दासमेत नमान्ने साउदको कम्पनीलाई किन कालो सुचिमा राख्न नसकेको भन्दै प्रश्नसमेत खडा भएको छ ।

अध्यक्ष पार्कीसँग स्थानीय आक्रोशित

आफ्नो गाउँपालिकाभित्र पर्ने सडकमा गरिएको कालोपत्रे दुई दिनमै उप्किए पनि आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले भने मुख खोलेका छैनन् ।

आफ्नो गाउँपालिकामा पर्ने सडकमा गणस्तरहीन काम गरेर चरम लापरबाही हुँदासमेत स्थानीय सरकार मौन बसेको भन्दै अध्यक्ष पार्कीको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । कतिपय स्थानीयले यसमा पार्कीको पनि मिलेमतो भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement