विष्णु रिमाल जस्ताको मतिले समस्या बढेका छन्ः भीम रावल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कोरोनाका कारण देखाएर बैठक स्थगन गर्नु षड्यन्त्र मात्रै भएको आरोप लगाएका छन् ।

बुधबारका लागि तोकिएको बैठक स्थगन हुनु षडयन्त्रकारी र गैरजिम्मेवार राजनीतिको मुद्दा स्वरुप भएको रावलको टिप्पणी छ ।

उनले ट्वीट गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले विष्णु रिमालले नै गलत हल्ला फैलाएको आरोप लगाएका छन् । ‘के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ । प्रमका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यस्तै मति र बुद्धिले समस्या बढेका छन् ।’

यस्तै उनले एक तिहाई सदस्यले बैठक माग गरेको १५ दिनमा स्थायी कमिटी बोलाउनुपर्ने भए पनि प्रधानमन्त्रीले २१ दिनसम्म पनि नबोलाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । प्रधानमन्त्री नै बैठक बोलाउन इच्छुक नरहेको रावलको आरोप छ ।

रावलले बालुवाटारमा केही दिनअघि ओलीले आफ्ना निकटका नेता र सांसदलाई भेला गराउँदा पीसीआर परीक्षण नगरिएको पनि दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement