भोटेकोशी बाढी : ‘के भयो’ थाहा भयो, ‘कसरी भयो’ अझै पत्ता लागेन

भोटेकोशी बाढी : ‘के भयो’ थाहा भयो, ‘कसरी भयो’ अझै पत्ता लागेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीको स्पष्ट उपग्रह तस्बिरहरू सार्वजनिक भएपछि यो केवल हिमनदी भत्किएका कारण मात्र नभइ बरु नेपालमा रहेको ७ हजार २३४ मिटर अग्लो लाङटाङ लिरुङ हिमालको उत्तरी भिरालो भागको ठूलो हिस्सा नै भत्किएको तथ्य बाहिर आएको छ ।

विश्लेषकहरूका अनुसार करिब ५ हजार मिटरको उचाइमा रहेको हिमालको भिरालो भाग भत्किएर त्यसको माथि रहेको हिमनदीको ठूलो हिस्सा समेत लिएर तलको खोँचमा खसेको हो । त्यसपछि उत्पन्न चट्टान–बरफको हिमपहिरोले ठूलो लेदोसहित बाढी आएको हो, जुन नदीको बहावसँगै तलतर्फ पुगेको थियो र अन्ततः विनाशकारी आकस्मिक बाढी निम्त्यायो ।

वैज्ञानिकहरूको अनुमानमा उक्त चट्टान–बरफको हिमपहिरोमा २० करोड घनमिटरसम्म लेदो खसेको हुन सक्छ ।

विपद्पछि लिइएको लाङटाङ लिरुङको तस्बिरमा हिमनदीको ठूलो हिस्सा हराएको देखिन्छ । तर अझ महत्वपूर्ण कुरा, हिमनदीमुनिको पहाडको भिरालो भागसमेत बगेर गएको देखिन्छ, जसले चट्टानी भित्तामा ताजा घाउजस्तो ठूलो भाग देखाएको छ ।

तक्षशिला इन्स्टिच्युसनका भू–स्थानीक कार्यक्रम प्रमुख वाई निथियानन्दमले भने, ‘मूलतः यो एउटा विशाल पहिरो थियो, जसमा हिमनदीसहित त्यसलाई धानेको पहाडको भिरालो भाग नै तलको खोँचमा खसेको थियो । हिमनदी चट्टानी आधारको रेखासँगै काटिएको देखिन्छ, जसले हिमनदी खसेर चट्टान बगेको नभई चट्टान खस्दा हिमनदीको केही हिस्सा पनि त्यससँगै तल आएको संकेत गर्छ । पहाडको भिरालो भाग र हिमनदी खसेपछि चट्टान–बरफको लेदोसहित पहिले ल्हेन्दे खोला र त्यसपछि भोटेकोशी हुँदै तलतर्फ बगेको थियो ।’

एक हजार मिटरभन्दा बढी तल खसेको चट्टान–बरफको हिमपहिरो तलको खोँचमा ठोक्किँदा बरफ तीव्र गतिमा टुक्रिएर पग्लियो । चट्टान, बरफ, पानी र लेदो मिसिएर विशाल मलबे बहाव बन्यो । नदीको खोँच हुँदै अघि बढ्दा यसले थप चट्टान, ठूला ढुंगा, पानी र माटो आफूसँग मिसाउँदै लग्यो र अन्ततः विशाल मलबेयुक्त बाढीमा परिणत भयो ।

निथियानन्दमले बताएअनुसार चट्टान-बरफको हिमपहिरो नेपाल-तिब्बत सीमाक्षेत्रनजिक ल्हेन्दे खोला नदी प्रणालीमा मिसिएको थियो । त्यसबाट उत्पन्न बाढीको लहरले तिब्बततर्फको ग्यिरोङ सीमा चौकीमा प्रहार गरेपछि नेपालतर्फ तल बगेको थियो ।

विपद् भएको केही दिनपछि यसका केही महत्वपूर्ण पक्षबारे स्पष्टता आएको छ ।

पहिलो, यो केवल हिमनदी भत्किएको घटना नभई हिमनदीसहित पहाडको भिरालो भाग नै भत्किएको ठूलो पहिरो भएको पुष्टि भएको छ ।

दोस्रो, विपद्को सुरुवात नेपालतर्फबाट भएको देखिएको छ ।

तेस्रो, नेपालतर्फ पहाडको भिरालो भाग भत्किए पनि ल्हेन्दे खोला सीमापार भएर बग्ने नदी भएकाले यसको प्रभावबाट तिब्बती क्षेत्र पनि अछुतो रहन सकेन । तर पहाडको भिरालो भाग किन भत्कियो भन्ने अझै स्पष्ट भएको छैन ।

सुरुमा विपद्को कारण हिमनदी भत्किएको बताइँदा भूकम्पले त्यसलाई उत्प्रेरित गरेको हुन सक्ने अनुमान गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले सुरुमा भूकम्पीय गतिविधिलाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा वर्गीकरण गरेको थियो । तर पछि उसले त्यहाँ भूकम्प नभएको स्पष्ट पा¥यो । भूकम्पीय गतिविधि रिक्टर स्केलमा ५.२ रहेको र त्यो पहाड भत्किएपछि उत्पन्न भएको थियो । अर्थात् भूकम्पका कारण पहिरो गएको नभई पहाड भत्किँदा उत्पन्न भएको भूकम्पीय गतिविधि थियो ।

निथियानन्दमका अनुसार पहाडको भिरालो भाग र हिमनदीको भत्किएको हिस्साको गहिराइबारे जानकारी नभएकाले कति परिमाणमा चट्टान र बरफ खसेको थियो भन्ने अनुमान गर्न कठिन छ ।

भोटेकोशी बाढीपछि बनेका बाध तालहरूबारे पनि केही स्पष्टता आएको छ । अन्तरिक्ष विश्लेषण कम्पनी सुहोरा टेक्नोलोजिजले उपलब्ध गराएको निर्देशांकअनुसार भत्किएको पहाडको भिरालो भागको ठीक तल बनेको एउटा नयाँ ताल नेपालभित्रै रहेको छ ।

तर नेपाल-तिब्बत सीमाको नजिक तलतर्फ अर्को ठूलो ताल पनि पहिचान गरिएको छ । यही ताललाई चिनियाँ अधिकारीहरूले फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी गरिरहेको देखिन्छ ।

बाध तालका कारण थप आकस्मिक बाढी आउन सक्ने डरले उद्धार कार्यसमेत जटिल बनेको थियो, तर त्यस्तो आशंका अहिलेसम्म वास्तविकतामा परिणत भएको छैन ।

केही टिप्पणीकारहरूले तिब्बतमा चीनले निर्माण गरेका ठूला बाँधहरूलाई सम्भावित कारणका रूपमा औँल्याएका छन् । तर निथियानन्दमले लाङटाङ लिरुङको भत्किएको उत्तरी भिरालो भागको आसपास त्यस्तो कुनै ठूलो निर्माण कार्य नभएको बताए ।

उनले भने, ‘हामीसँग अहिले उपलब्ध तथ्यका आधारमा पहाडको भिरालो भाग किन भत्कियो भन्ने प्रश्नको उत्तर दिन सक्दैनौँ । अहिलेका लागि हामीले सबैभन्दा सम्भावित रूपमा के भयो भन्ने प्रश्नको मात्र जवाफ दिन सक्छौँ ।’