काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा र निर्माणाधीन ५ वटा गरी कुल १५ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाहरू प्रभावित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढी कारण सञ्चालनमा रहेका कुल ३५९ मेगावाट क्षमताका आयोजनाहरूबाट विद्युत् उत्पादन प्रभावित भएको छ भने निर्माणाधीन ३१४ मेगावाट क्षमताका आयोजनाका भौतिक संरचनामा समेत गम्भीर क्षति पुगेको छ।
बाढीबाट रसुवा जिल्लामा सञ्चालनमा रहेका ५ वटा आयोजनाबाट कुल २३६ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ। जसमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना रहेका छन्।
यसैगरी रसुवामै निर्माणाधीन अवस्थामा रहेका कुल ३४२ मेगावाट क्षमताका ३ वटा आयोजनाहरूमा पनि बाढीले ठूलो नोक्सानी पुर्याएको छ, जसमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६ दशमलव ४२ मेगावाटको माथिल्लो मेलुङ–ए आयोजना रहेका छन्।
यस्तै नुवाकोट जिल्लामा पनि बाढीका कारण सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न आयोजनाहरू क्षतिग्रस्त भएका छन्। नुवाकोटमा सञ्चालनमा रहेका १२३ मेगावाट क्षमताका प्रमुख आयोजनाहरूमा ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, २५ मेगावाटको सौर्य ऊर्जा ९सोलार० आयोजना, २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र १४ दशमलव १ मेगावाटको देवीघाट जलविद्युत् आयोजना प्रभावित बनेका छन्।
यसका साथै जिल्लामा निर्माणाधीन ५२ दशमलव ६ मेगावाट क्षमताका आयोजनाहरूमध्ये ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी र १५ दशमलव ६ मेगावाटको मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनामा पनि बाढीले संरचनागत क्षति पुर्याएको छ।
बाढीका कारण बाँधस्थल, विद्युतगृह, सुरुङ तथा प्रसारण प्रणाली लगायतका महत्त्वपूर्ण संरचनाहरूमा असर परेको प्रारम्भिक अनुमान गरिएको छ। सम्बन्धित प्रवर्द्धक कम्पनीहरूले क्षतिको यकिन विवरण संकलन गरिरहेका छन् ।





प्रतिक्रिया