काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १७७ पुगेको छ । नेपाल प्रहरीले दिएको बिहीबार बिहान १० बजेसम्मको अपडेट अनुसार हाल सम्म १७७ जनाको शव फेला परेको हो ।
सबैभन्दा धेरै चितवनमा ६९ वटा, नवलपरासी पूर्वमा ३२, धादिङमा २७ र गोरखामा २० वटा शव फेला परेको हो ।
यस्तै रसुवामा २, नुवाकोटमा १२, तनहुँमा ९ नवलपरासीपश्चिममा ६ वटा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचा भइरहेको छ । त्रि.वि. शिक्षण अस्पतालमा १९ जना , ट्रमा सेन्टरमा ८ जना , वीर अस्पतालमा २ जना वीरेन्द्र सैनिक अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना र १ जना मनमोहन अस्पतालमा उपचाररत छन् ।
हाल ३ हजार ३१८ जना प्रहरी परिचालित रहेका छन् भने २८ जना प्रहरी कर्मचारीहरू सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमध्ये ४१ जना सम्पर्कमा आएका छन्। विवरणअनुसार इलाका प्रहरी कार्यालय ठिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। त्यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेंसीमा कार्यरत ८ जनामध्ये ४ जना र अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्।
यसैगरी, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्।
उल्लेखित विवरणअनुसार यी ६ प्रहरी कार्यालयमा कार्यरत कुल ६४ जनामध्ये ४१ जना सम्पर्कमा आएका छन् भने २३ जना अझै सम्पर्कविहीन छन्।





प्रतिक्रिया