रसुवा- भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी रसुवाका विभिन्न प्रहरी कार्यालय तथा चौकीमा कार्यरत २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता छन्।
बाढीमा बेपत्ता भएका तीन प्रहरीको भने शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेलको शव भेटिएको हो।
बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती तथा अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुर्याएको छ।
कतिपय प्रहरी चौकी तथा भौतिक संरचना पूर्ण रूपमा बगाएको र केही संरचना क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ। बाढीमा परेर बाँच्न सफल प्रहरी कर्मचारीहरूले घटनाको भयावह अवस्था सुनाएका छन्।
प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान करिब ८ः४५ बजे स्याफ्रुबेँसी बजारमा कन्टेनर डिब्बाहरू लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेको थियो। त्यही क्रममा अचानक बाढी आएको उनले बताए।
‘बाढीले बजार डुबाउँदै गर्दा म छालमा परेको थिएँ। पानीको तीव्र बहावले मलाई निकै माथि हुत्याइदियो। करिब २–३ घण्टापछि होस् आउँदा म बजारभन्दा निकै टाढा पुगिसकेको थिएँ,’ उनले त्यस दिनको घटना सम्झिँदै भने।
होसमा आएर हेर्दा आफू कार्यरत प्रहरी चौकी र स्याफ्रुबेँसी बजार नै नरहेको उनले बताए। त्यही चौकीमा कार्यरत प्रहरी जवान दिपेश भण्डारी पनि संघर्ष गर्दै बाढीबाट ज्यान जोगाउन सफल भएका थिए।
अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत प्रहरी हवल्दार रोशन विष्टले बाढी आउँदै गरेको जानकारी पाएपछि जलविद्युत् आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानमा जान खबर गर्न दौडिएको बताए।
तर, खबर गरिरहेकै बेला करिब ५०० मिटर माथिबाट आएको लेदो र पानीको छालले आफूहरूलाई बगाएको उनले बताए।
विभिन्न आठ ठाउँमा ओत लाग्दै र हिलोमा संघर्ष गर्दै आफूले ज्यान जोगाएको विष्टले बताए। सोही पोष्टका प्रहरी सहायक हवल्दार दुर्गाबहादुर मगर भने उकालोतर्फ दौडिएर सुरक्षित स्थानमा अड्किएपछि ज्यान जोगाउन सफल भएका थिए।
टिमुरेमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सन्तबहादुर थिङले बाढी निकै अस्वाभाविक र तीव्र गतिमा आएको बताए।
‘हामी ड्युटीमै थियौँ। एक्कासी यति ठूलो बाढी आयो कि त्यो जमिनबाट नभई आकाशमै उडेर आएजस्तो देखिन्थ्यो,’ उनले भने।
बाढी आएपछि ‘उकालो भागौँ, कतै ज्यान बच्छ कि’ भन्दै आफू र प्रहरी हवल्दार ज्ञानबहादुर श्रेष्ठ पहाडतर्फ दौडिएर ज्यान जोगाउन सफल भएको थिङले बताए।
भोटेकोशी बाढीले रसुवामा अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्याउनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी तथा सर्वसाधारणलाई बेपत्ता बनाएको छ। बाढीपछि रसुवा शोकमा डुबेको छ।
बेपत्ता प्रहरी सहायक निरीक्षक रामहरि खड्कालगायत अन्य प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रासस




प्रतिक्रिया