चिसोका कारण भूकम्पमा जोगिएका दुई जनाकाे ज्यान गयाे


काठमाण्डु- गत साता जाजरकोटमा गएको भूकम्पपछि समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्। यसैबीच भूकम्पमा जोगिएका दुई जनाले चिसोका कारण ज्यान नै गुमाएका हुन्।

शुक्रबार जाजरकोटको नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको जनाइएको छ।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको हो। वडाध्यक्ष बद्री पन्तका अनुसार एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो। गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारतमा छन्। यो गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ।

एक्लै बस्दै आएका उनी भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए। स्याहार गर्ने कोही थिएनन्।

माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भने भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन्। धपेडी र चिसोले निमोनिया भएर उनको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement