भूकम्पले एक करोड ९० लाखका पशुपन्छीको क्षति


काठमाण्डु- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रुपैयाँका पशुपन्छीको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीका अनुसार जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको छ । उनका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख बराबरको क्षति भएको मूल्यांकन गरिएको छ । दुवै जिल्लामा ६०६ घाइते पशुको उपचारसमेत गरिएको छ । जाजरकोटमा मात्रै ५९२ पशुको उपचार गरिएको छ ।

उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बिमा भएका कृषकको क्षतिपूर्ति दाबी बिमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए ।

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement