बस्ती तराईतिर, पूर्वाधार पहाड सर्दै जाँदा पहिरो बढ्याे (अन्तर्वार्ता)

बस्ती तराईतिर, पूर्वाधार पहाड सर्दै जाँदा पहिरो बढ्याे (अन्तर्वार्ता)

घर-घरमा बाटो पुर्‍याउने प्रवृत्तिले जता पायो त्यतै खन्दा निस्किएको माटोढुंगा व्यवस्थापनमा लापरवाही गर्दा पहिरोको जोखिम बढ्यो


काठमाण्डु– पछिल्ला केही वर्ष यता प्राकृतिक विपद्का घटना बढ्दो क्रममा रहेका छन् । मनसुन सुरु भए (गत जेठ २८ गते) यता भएका बाढी पहिरो लगायतका विपद्मका घटनामा १८१ जना मानिसले ज्यान गुमाइसकेका छन् । 

२ महिनाको अवधिमा २ सय २९ जना घाइते रहेका छन् भने बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोका कारण हाल सम्म ८३० पशु चौपायाको मृत्यु भएको छ भने ४ हजार ६ सय ८९ परिवार विस्थापित भएका छन् ।

अघिल्लो साल भन्दा यो वर्ष धेरै पानी परेको र बढी पहिरोजस्ता विपद्का घटना बढेको बताउँछन् विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भूसाल । पछिल्ला समय  प्राकृतिक विपद्का घटना बढ्नुको कारण जलवायु परिवर्तन मात्र नभइ मानवीय कमजोरी पनि भएको बताउँछन् भूसाल । यसै विषयमा सहसचिव भूसालसँग गरिएको कुराकानीको सारसंक्षेप :

अघिल्लो वर्ष भन्दा यो वर्ष मनसुनी प्रकोप (पहिरो) धेरै गएको हो ?

हो, यस पटक पोहोरको तुलनामा पहिरो बढी खसेको छ । अहिले पानी पर्ने प्रवृत्ति फरक छ । ठुलो पानी पर्‍यो भनिन्छ तर पानीको मात्रा मात्र ठुलो होइन । अहिले जसरी पहिरो गएको छ त्यहाँ धेरै समय पानी नपरेको ठाँउ, सुख्खा ठाँउ या त एकै ठाँउमा धेरै समयसम्म पानी परेको देखिएको छ । कति ठाँउमा भूकम्पले खलबल्याएका ठाँउमा पहिरो बढी गएको छ ।

 यसरी पहिरो जानुको कारण के के हुन सक्छन् ?

पहिरो खस्नुको कारण पानी पर्नु मात्र हैन । पानी नपर्ने समयमा पनि सुख्खा पहिरो खस्छ । अव, बर्खामा धेरै पहिरो खस्नुको एउटा कारण मानवीय प्रवृत्ति पनि हो । गर्मी यमामा पहाडतिर बाटो बनाउने, बाटो बढाउने कारणले पनि पहिरोको जोखिम बढायो । घर घरमा बाटो पुर्‍याउने प्रवृत्तिले जता पायो त्यतै बाटो खनियो, बाटो बनाउदा निस्किएको माटो ढुंगालाई व्यवस्थित तरिकाले व्यवस्थापन गरिएन । लापरवाही गरियो । जसका कारण माटो खुकुलो भयो र सानो पानी पर्दै माटो बग्ने, पहिरो खस्ने जोखिम बढ्यो । बस्ती तराईतिर पूर्वाधार पहाड सर्दै जानाले पनि पहिरो जाने कारण बनेको छ ।

खण्ड वृष्टि हुनुको कारण के हो ?

यसको चाँहि मुख्य यही हो भन्न सक्ने कारण छैन । एक कारण हुन सक्छ जलवायु परिवर्तनको असर । अहिले यहाँ पानी परेको छ अलि पर परेको छैन भने त्यो  खण्ड बृष्टि हो । नेपालको मैसमी प्रवितृले यसलाई निर्धारण गर्दैन ।

 पहिरोको जोखिम निर्धारण कसरी गर्ने ?

अहिलेको पहिरोको प्रवृत्ति अनुमान बाहिर गएको छ । यहाँ जोखिम छैन है भनिएकै ठाँउमा पहिरो खसेको छ । अहिले भिरालो भन्दा पनि नसोचेको सहज ठाँउमै पहिरो गएको छ ।

क्षती कम कसरी गर्ने ?

जोखिम छ भनेर वस्ती नै सार्ने भन्ने अवस्था हुँदैन । विपद् मान्छेले रोक्न सक्दैन । पहिले रुख भएको ठाँउमा पहिरो जादैन भन्ने थियो । अहिले रुख धेरै भएको ठाँउमै पहिरो गएको छ । अहिले नांगो डाँडामा पहिरो गएको कमै मात्र देखिन्छ । अव हामीले जमीनलाई बग्न नदिन के गर्ने भनेर सोच्ने बेला आएको छ । मानवीय क्षति चाँहि रोक्न सकिन्छ । मानवीय क्षति रोकथामका लागि सरकार, गृह मन्त्रालय, मैसम, भू–विभाग लागिपरेको छ । सवैभन्दा पहिले लापरवाही कम गर्न आम नागरिकमा जनचेतना जगाउनु पर्ने जरुरी देखिएको छ । 

घर घरमा बाटो पुर्‍याउने प्रवृत्तिले जता पायो त्यतै बाटो खनियो, बाटो बनाउदा निस्किएको माटो ढुंगालाई व्यवस्थित तरिकाले व्यवस्थापन गरिएन । लापरवाही गरियो । जसका कारण माटो खुकुलो भयो र सानो पानी पर्दै माटो बग्ने, पहिरो खस्ने जोखिम बढ्यो ।

सोलुखुम्वुमा एक्कासी  हिमपहिरो गयो नि के रहेछ कारण ?

त्यो ठाँउमा नसोचेको तापक्रम बृद्धि देखियो । हिमपहिरो गएपछि हामी फिल्डमा गयौँ । हिमाली भेगमा चिसो होला भन्ने सोचेर गइयो तर त्यहाँको तापक्रम एकदमै गर्मी थियो । हिउ पर्ने ठाँउमा गर्मी हुनु भनेको जलबायुकै असर हो । अर्को कारण माथिल्लो भेगमा अत्यन्तै कम पानी पर्नु पर्ने हो । हिउँ पर्ने ठाँउमा ४ दिनदेखी लगातार पानी परेपछि हिउँ र हिउँले खाएको माटासहित झरेपछि तालको बाँध फुटेको देखियो । यसबाट हिमाली क्षेत्र ताल भएका ठाँउमा जुनसुकै समयमा यस्ता घटना हुन सक्छन् भनेर बुझ्न जरुरी छ । 

बाढी पहिरोसँगै लेदो र ग्रेगान कसरि आउछ ?

हिउँदमा तुसारो पर्ने ठाँउमा तुसारो पग्लिएपछि माटोको माथिल्लो सतह भासिन्छ अथवा माटो खुकुलो र कमजोर भएको हुन्छ । तुसारोले खाएको माटो ठुलो पानीले बगाएर लैजादा ग्रेगान र लेदो सहित आँउने गर्छ । 

सिमलतालमा पहिरो गएपछि गठित अध्ययन टोलीले बुझाएको प्रतिवेदन पछि न्युनिकरणका लागि के गर्‍यो  सरकारले ?

सिमलताल पहिरोले दिएको सन्देश भनेको विपद् जहाँ पनि जुनसुकै बेला पनि आउन सक्ने रहेछ भन्ने नै हो । सरकार त भइहाल्यो तर आम नागरिकले पनि लापरवाही गर्न नहुने प्रष्ट हुन्छ । बर्खा याममा ठुलो पानी पर्न सक्छ भनेर अनुमान त लगाउन सकिन्छ नि ? तर सर्वसाधारणमा त्यो सोच देखिएन ।

टिकट नकाटी गाडी चढ्ने, गाडी वालाले पनि जोखिम मोलेर यात्रा गराउने, तल राष्ट्रिय राजमार्ग छ माथि पहाडमा जथाभावी डोजर लगाएको छ, उपयोग हुने भन्दा धेरै सडक बनाएको छ, त्यहाँबाट निस्किएका ढुंङा माटोको उचित व्यवस्थापन भएन । यी कुराबाट अब ट्राफिक प्रहरी, गाडी चालक, सर्वसाधारणलाई बुझ्न बुझाउन र रोकथाम गर्न सकिन्छ ।