न्यायाधीश गिरीमाथि पूर्वपत्नीद्वारा बलात्कार आरोपः महिलाद्वारा पूर्वपतीविरुद्ध अनसन घोषणा

न्यायाधीश गिरीमाथि पूर्वपत्नीद्वारा बलात्कार आरोपः महिलाद्वारा पूर्वपतीविरुद्ध अनसन घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु, १४ जेठ– दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पुनबर्हाली गरिएको विरोधमा उनकी पूर्वपत्नी आरती रावल आमरण अनसन बस्ने भएकी छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रावलले बलात्कार मुद्धासम्बन्धी विषयको छिनोफानो नहुँदै गिरीलाई पुनबर्हाली गरिएको भन्दै आमरण अनसन घोषणा गरेकी हुन् । अंश मुद्धा चलिरहेका बेला पूर्वपत्नी रावललाई उनकै डेरामा गएर बलात्कार गरेको आरोप गिरीमाथि छ ।

पूर्वपत्नी बलात्कार मुद्धामा जिल्ला अदालत काठमाण्डूले दोषी ठहर गरी गिरीलाई कैद सजाय तोकेको थियो । जिल्लाको फैसलाविरुद्ध गिरी उच्च अदालत पाटन गएका थिए ।

उच्च अदालतले सफाइ दिएपछि गिरी थुनामुक्त भएका थिए पूर्वपतीले बलात्कार गरेको भन्दै रावलले जिल्ला प्रहरी परिसर काठमाण्डूमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरीका आधारमा गिरीलाई २८ चैत २०७९ मा पक्राउ गरेको थियो । काठमाण्डू जिल्ला अदालतमा मुद्धा दायर भएपछि गिरी १७ वैशाख २०८० मा स्वतः निलम्बनमा परे ।

सुरुमा जिल्ला र त्यसपछि उच्च अदालतले रिहा गर्न आदेश दिएपछि रावलले अनसन र प्रदर्शन गरिरहिन् । मुद्धाको सुनुवाई जारी रहेका बखब इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामा राख्न आदेश दिएको थियो ।

२८ जेठ २०८१ जिल्ला अदालत काठमाण्डूका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई आंशिक दोषी ठहर गरी ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।


जिल्लाको फैसला उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वपत्नीले लगाएको बलात्कार आरोपमा दाबी नपुग्ने ठहरसहित जिल्लाको फैसला बदर गरी थुनामुक्त गर्न आदेश दियो ।


गिरी रिहा भएपछि रावलले पटकपटक धर्ना, अनसन र प्रदर्शन गर्दै आएकी छन् । पत्रकार सम्मेलनमा रावलले न्यायाधीश गिरीलाई फौजदारी कसुरमा तत्काल निलम्बन गरिनुपर्ने माग गरिन् ।


अदालतको फैसलापछि न्यायपरिषदमा निवेदन दिएका गिरीलाई परिषदले काममा फर्कन अनुमति दिएको थियो ।

रावलले तीनै तहका अदालतमा गिरीविरुद्ध मुद्धा चलिरहेका बेला पछिल्लो समय शक्तिको दुरुपयोगमार्फत माहान्यायाधीवक्ता कार्यालयबाट मुद्धा नचल्ने निर्णय गराई पुनर्वहाली गरिएको आरोप लगाइन् ।

सत्ता र शक्ति दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुनबर्हाली गरी कानूनी राज्यको धज्जी उडाइएको आरोप उनको छ । ‘

सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेकाले भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’, रावलले भनिन् ।

विगतका समयमा अदालतप्रति जनताको आश मर्दै गए पनि वर्तमान समयमा त्यसप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्, ‘बालेन सरकारले न्यायालयको शुद्धीकरणको संकेत दिएको हो भने भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस् । सर्वोच्च अदालत मेरा मिसिलका एक-एक प्रमाणहरु केलाएर मलाई न्याय गरियोस् ।’

बलात्कार जस्तो गम्भीर आरोपमा सफाई नपाउँदै गिरीले न्यायाधीशका रुपमा कार्यसम्पादन गर्न नमिल्ने तर्क उनको छ ।