भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।

सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् ।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो ।

भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको खाण्डुले बताए । प्रदर्शनकारीहरूले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको उनले जानकारी दिए ।

प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरेका छन् ।

भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।

चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँदिल्लीको भनाइ छ । तर बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरेको छ ।

भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ ।

विवादले भारत र चीनबीच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भूभाग भएको बताउँदै आएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताएका थिए ।

उनका अनुसार सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताए ।