वैदेशिक रोजगार विभागमा एकैदिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ

वैदेशिक रोजगार विभागमा एकैदिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ


काठमाण्डु – वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ ।

विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरणअनुसार मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् ।

विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको छ । पछिल्लो विवरणअनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ । यसैगरी ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैंकलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्र लगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई ५ वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा समेत प्रदान गरेको छ ।

गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको तत्काल समाधान गरिएको छ । विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका छन् भने अन्य प्रक्रियामा रहेका छन् ।

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएपमार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ ।

त्यसै क्रममा आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ ।

विभागको सक्रियताले वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षणमा थप बल पुग्ने देखिएको छ ।