विदेशबाट आएकाको खोजी गर्दै प्रहरी


काठमाडौँ- विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।

विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उहाँ बताउनुहुन्छ ।

केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ । कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो ।

“सोही विमानमा सवार पाँच जना विदेशी नागरिकसहित २४ जना कहाँ छन्, कस्तो अवस्थामा छन्, खोजी हुँदैछ,” उहाँले भन्नुभयो, “राहदानीका आधारमा जिल्ला गाउँको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौँ ।” कोरोना भाइरस सङ्क्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन्। उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका परिचित र आफन्त सबैलाई सम्पर्कमा आइदिन प्रहरीले आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement