सामाजिक सद्भाव कायम राख्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह

सामाजिक सद्भाव कायम राख्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध गरेकी छन् ।

केही दिनयता सुम्सेरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइन् । उनले घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दु:खित बनाएको घटनामा परी दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबिचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपालको मौलिक पहिचान तथा गौरव हो, त्यसको संरक्षण सबैको साझा दायित्व हो । हाम्रा पुर्खाले निर्माण गरी पुस्तौँदेखि गर्वपूर्वक जोगाउँदै आएको अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिइने छैन,’ उनको विज्ञप्तिमा भनिएको छ ।

कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादका माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकाले नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुन:स्थापित गर्न आवश्यक सबै कदम चाल्न उनले आग्रह गरेकी छन् ।