काठमाण्डु- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान संशोधनमार्फत् वरिष्ठ नेता बनाएको छ।
२०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट आफैंले निर्णय गरेर एमालेमा आउन रोकिएकी भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा वरिष्ठ नेता बनाइएको हो ।
२०८२ मंसिरमा वरिष्ठ उपाध्यक्ष पद हटाएर उपाध्यक्ष मात्रै राखेको एमालेले पार्टीकै पूर्वउपाध्यक्ष भण्डारीलाई वरिष्ठ नेता बनाउन विधान संशोधन गरेको हो ।
उसबेलाका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीसँग दुई लाइन संघर्ष चर्काएपछि ओलीले उक्त पद नै हटाइदिएको आरोप पनि लाग्ने गरेको थियो ।
त्यससँगै २०८२ मंसिर २७ देखि पुस ३ सम्म काठमाडौंमा भएको ११ औँ महाधिवेशनमा पोखरेललाई हराउँदै ओली नै अध्यक्ष बनेका थिए । त्यसबेला भण्डारीको सदस्यता नै नवीकरण नगरिदिएर ओलीले उनलाई रोकेर आफू अध्यक्ष बनेका थिए ।
एघारौँ महाधिवेशनअघि केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णयसहित वरिष्ठ उपाध्यक्ष पद हटाएको थियो ।
त्यसबेला महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।
त्यसबेला अध्यक्षका प्रत्यासी पोखरेलले सम्हालेको वरिष्ठ उपाध्यक्ष पद हटाएपछि उपाध्यक्षको संख्या ६ बाट घटाएर ५ बनाइएको थियो । ७ जना सचिवमा भने २ थपेर ९ पुर्याइएको थियो ।
अहिले पनि एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षको स्थानमा वरिष्ठ नेता पद सिर्जना गरेको छ। एमालेको असोज ५-८ मा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकपछि मंगलबार जारी अन्तरपार्टी निर्देशन-३ मार्फत् भण्डारीलाई विधान संशोधन गरेर वरिष्ठ नेता बनाइएको उल्लेख छ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्केपछि उनलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पदमा मनोनयन गरिएको ओलीले निर्देशनमा उल्लेख गरेका छन्।
भण्डारीलाई वरिष्ठ नेता बनाउने केन्द्रीय कमिटीको यस निर्णयका लागि विधानको धारा १०५ (बाधा अड्काउ फुकाउने अधिकार) र धारा १३ (क) प्रयोग गरी विधानको धारा १३ (ख) र धारा १८ मा संशोधन गरिएको छ।
संशोधित विधानअनुसार अब एमाले केन्द्रीय कमिटीमा अध्यक्ष, वरिष्ठ नेता, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ सचिवसहित ३०२ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ।
स्थायी कमिटी र केन्द्रीय कमिटीमा नयाँ मनोनयन
यस बैठकले स्थायी कमिटी सदस्यमा ७ जनालाई मनोनीत गरेको छ। ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाम्फे स्थायी कमिटी सदस्यमा आएका छन्।
विधानको धारा ६९ (क) बमोजिम देवराज घिमिरे, काशीनाथ अधिकारी, विद्यासुन्दर शाक्य, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे, प्रेम दङ्गाल, पासाङ शेर्पा लगायत २० जना नेताहरू केन्द्रीय कमिटीमा मनोनित भएका छन्।
अन्य दलबाट प्रवेश गरेका नेताहरू १३ जनालाई पनि अटाइएको छ । विधानको धारा ६९ (घ) बमोजिम अन्य दलबाट प्रवेश गरेका इस्तियाक राई, प्रदीप यादव, भवानी खापुङ, विनोद पहाडी, डीबी कार्की, अब्दुस हुसैन अन्सारी लगायत १३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ।




प्रतिक्रिया