काठमाण्डु- नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा परेको देखेपछि आफू सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा भण्डारीले ११ वर्षपछि पार्टी राजनीतिमा सक्रिय भएको जानकारी गराएकी हुन्।
एमाले सचिव पद्मा अर्यालका अनुसार लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन आफू पार्टीमा फर्किएको भण्डारीले बताएकी थिइन्।
‘११ वर्षपछि पार्टी जीवनमा फर्किएकी छु। आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ। अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले यसको रक्षा गर्ने हो,’ भण्डारीको भनाइबारे सचिव अर्यालले थपिन्।
भण्डारीले आफू विगतमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको बताउँदै लोकतन्त्रप्रति अगाध माया र विश्वास रहेको स्पष्टीकरण दिइन्।
‘म हिजो लोकतान्त्रिक आन्दोलनमा सरिक भएँ। त्यसप्रति अगाध माया र विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन मद्दत पुर्याउन सक्छु भन्ने मनसायले् पार्टी जीवनमा फर्किएँ,’ उनले अगाडि भनिन्।
भण्डारीले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलकै भएको बताइन्। लोकतान्त्रिक आन्दोलनपछिको उपलब्धिको संरक्षण र सुदृढीकरणमा योगदान दिन आफू सक्रिय राजनीतिमा आएको उनको जवाफ थियो ।



प्रतिक्रिया