रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा हुँदा खुसी लाग्योः राष्ट्रपति भण्डारी


काठमाण्डु – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले रानीपोखरीको डिलमा उभिएर गरेको अठोट आज पूरा भएको बताएकी छन् ।

रानीपोखरी पुनः निर्माणको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरीको पुर्ननिर्माण गर्ने अठोट आज पूरा भएको बताएकी छन् ।

‘आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ’, उनले भनिन्, ‘ त्यसबेला हाम्रो अठोट थियो– भूकम्पबाट क्षति पुगेका हाम्रा सबै प्रकारका संरचनाहरूको हिजोभन्दा बलियो र राम्रो गरी पुनर्निर्माण गर्न सक्छौँ र गर्नेछौँ । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ । आज यही रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ ।’

राष्ट्रपति भण्डारीले आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व रहेको बताइन् ।

उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको बताएकी छन् । उनले प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरेकी छन् ।

उनले प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताइन् ।

‘यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको छ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement