पूर्वराष्ट्रपति भण्डारीद्वारा सूर्यविनायक नगरपालिका र डोलेश्वर अवलोकन

पूर्वराष्ट्रपति भण्डारीद्वारा सूर्यविनायक नगरपालिका र डोलेश्वर अवलोकन


भक्तपुर –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गरेका छन् ।

उनले आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर विकासको गतिविधिबारे जानकारी लिइन् । “संविधानले स्थानीय पालिकालाई धेरै अधिकार र जनतासँग जोडिएर काम गर्ने अवसर दिएको छ । जनतासँग सरोकार रहेका र आफ्ना गाउँघरका समस्या स्थानीयस्तरमै समाधान गर्ने अवसर दिएकाले यसको सदुपयोग हुन आवश्यक छ । भौतिकसँग मानसिक विकासमा पनि स्थानीय तहले जोड म आग्रह गर्न चाहन्छु,” उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्यायको क्षेत्र भएको बताइन् । उनले सबै जनता अड्डा अदालत धाउन सक्दैनन् भन्ने ध्येयले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्न संविधानमा यस्तो व्यवस्था राखिएको उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले जनतासँग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र समृद्धि दिन सकिन्छ भनेर जनप्रतिनिधिले बढीभन्दा बढी काम गर्नुपर्ने सुझाव दिइन् ।

नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र विकासका बारेमा जानकारी गराएका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीलाई यहाँको विकास, शिक्षा, स्वास्थ्य एवं सम्पदाको अवस्थामा जानकारी दिए ।

पूर्वराष्ट्रपति भण्डारीले आजै भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गरेकी छिन् ।

डोलेश्वर मन्दिर पुगेकी उनले डोलेश्वर पूजा, दर्शन, आरती गर्नुका साथै मन्दिरको अवलोकन गरेकी थिइन् ।