राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने


काठमाडौं – मुलुकको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो ।

नेकपा एमालको राती अवेरसम्म बसेको स्थायी कमिटि बैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए । त्यसैले नेताहरू मध्यरातसम्म बैठकमा थिए ।

उम्मेदवार दर्ता बुधबार हुनेछ । एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने भण्डारी माओवादीको समर्थनमा सजिलै राष्ट्रपति बन्न सक्नेछिन् । निर्वाचन २९ फागुनमा हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चुनावलगत्तै दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेकी थिइन् । नेकपा माओबादी केन्द्रसंग एमालेको गठबन्धन रहेको र व्यवस्थापिका संसदमा बामगठबन्धनको बहुमत रहेकाले अब भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

राष्ट्रपति चुनावअन्तर्गत बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्ने भएकाले एमाले मंगलबार राती अबेरसम्म स्थायी समिति बैठक मार्फत उम्मेदावरको टुंगो लगाएको हो । पछिल्लो समय एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको मुद्दा पेचिलो बन्दै गएको थियो । आकांक्षीलाई लिएर एमालेभित्र नेता विभाजित थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement