विद्युतमा ८२ प्रतिशत प्रगति


काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ८२.२९ प्रतिशत भौतिक प्रगति गरेको छ। प्राधिकरणअन्तर्गत सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले आव २०७६/७७ मा यस्तो प्रगति हासिल गरेका हुन्। यस्तै प्राधिकरणले ८१.२३ प्रतिशत वित्ताीय प्रगति हासिल गरेको छ।

सरकार, वैदेशिक र प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनामा गत आवका लागि ५८ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। यसमध्ये ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ। विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्ट्याइएको बजेटको खर्च ९२ प्रतिशत छ। भौतिक प्रगति शतप्रतिशत रहेको प्राधिकरणले दाबी गरेको छ।

कोभिड १९ का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्ताीय र भौतिक प्रगति उत्साहजनक रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत वर्ष विद्युत् आयोजनाको उत्पादनतर्फ ७ अर्ब ८० करोड विनियोजन भएकोमा ५ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ। उत्पादनतर्फका आयोजनाको खर्च र भौतिक प्रगति क्रमशः ७०.८२ र ७६.८३ प्रतिशत छ। उत्पादनतर्फ जलविद्युत् आयोजना निर्माण, मर्मतसम्भार लगायत कार्य पर्छन्। निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भएर १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।

प्राधिकरणले १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, ६ सय ३५ मेगावाटको दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौ जलविद्युत् लगायत आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ। अध्ययनका लागि १ अर्ब ९५ करोड विनियोजन गरिएकामा २६.४८ प्रतिशत मात्रै खर्च भएको छ। ती आयोजनाको भौतिक प्रगति ३३.३९ प्रतिशत छ। कोभिड १९ का कारण आयोजनाको अध्ययन प्रभावित भएको कार्यकारी निर्देशक घिसिङले बताए।

प्राधिकरणको सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणाधीन छन्। माथिल्लो तामाकोसीको निर्माण यस वर्ष सक्ने लक्ष्य राखिएको छ।

प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकामा १९ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। प्रसारण लाइनतर्फ ६ आयोजनाबाट २ सय ८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ। प्रसारण लाइनतर्फको वित्तीय र भौतिक प्रगति क्रमशः ७३.७४ र ७४.९२ प्रतिशत छ।

प्रसारण लाइनतर्फ कोसी, सोलु, कालीगण्डकी, मस्र्याङ्दी करिडोर, सिंगटी लामोसाँघु, चिलिमे–त्रिशूली ३ बी हब, हेटौंडा–ढल्केबर–इनरुवा, मस्र्याङ्दी–काठमाडौं, तामाकोसी–काठमाडौंलगायत आयोजना निर्माणाधीन छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement