के एमालेमा लागू हुँदैछ ‘मदनको नीति, विद्याको नेतृत्व’ ?

के एमालेमा लागू हुँदैछ ‘मदनको नीति, विद्याको नेतृत्व’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार मनाइँदै छ ।

एमाले र मदन भण्डारी फाउण्डेशनले शनिबार विविध कार्यक्रम गरी भण्डारीको जन्मजयन्ती मनाउँदैछ ।

एमाले सम्पर्क समन्वय कमिटीले यस अवसरमा बिहान पदयात्रा गरेको छ । त्रिपुरेश्वरदेखि दशरथरङ्गशालाहुँदै तीनकुनेसम्म पदयात्रा गरिएको हो ।

यस्तै फाउण्डेशनले राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम गर्दैछ । अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छन् ।

एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) पनि महासचिव बनेका थिए। यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उनी महासचिवमा चुनिएका हुन् । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

२००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिएका भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

भण्डारी सक्रिय राजनीतिमा आउने

फाउन्डेसनले आयोजनामा गर्न लागेको कार्यक्रममा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति एवम् मदनपत्नी विद्या भण्डारी विशेष अतिथिको रूपमा उपस्थित हुनुलाई चासोका साथ हेरिएको छ ।

यही कार्यक्रममार्फत पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने भन्दै धेरैले चासोपूर्वक हेरेका छन् ।

एमालेको आन्तरिक जीवनमा समेत यो अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ । पार्टीमा ओलीको एकछत्र प्रभाव कायम रहेको बेला पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन् ।

ओलीको असहमतिकाबीच पूर्वराष्ट्रपति भण्डारीले यस कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनी निकट नेताहरुले बताएका छन् ।

एमालेमा ७० वर्षे उमेर हद, दुई वर्षे कार्यकाल र विद्या भण्डारीको सक्रिय राजनीतिमा आउने सम्भावनाको चर्चा भइरहेका बेला मदन भण्डारीको जन्मजयन्तीका अवसरमा हुन लागेको यो कार्यक्रम अनि नेताद्धय ओली र भण्डारीको उपस्थितिका साथै उनीहरुले कार्यक्रममा दिन सक्ने सन्देशलाई लिएर एमाले नेता कार्यकर्ताहरूले निकै चासोका साथ हेरेका छन् ।

भण्डारीलाई स्वागत गर्नेगरी पोस्टरसहित उनी निकट नेताहरूले प्रचार गरिरहेका छन् । उनीहरूले मदन भण्डारी र जबज जोडेर विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा प्रचारसमेत गरिरहेका छन् ।

एमालेको संस्थापन पक्ष भने भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने रणनीतिमा छ ।

एमाले भित्र उनलाई सक्रिय राजनीतिमा आउन नदिन प्रयास पनि भइरहको छ । महासचिव शंकर पोखरेल भण्डारीलाई रोक्ने अभियानमै छन् ।

तर भण्डारी निकट नेताहरूले यही कार्यक्रमको पूर्वसन्ध्यामा मदन र विद्याकोे तस्बिर राख्दै ‘जनताको बहुदलीय जनवाद, मदनको नीति विद्याको नेतृत्व’ लेखिएको पोस्टर सार्वजनिक भएको छ । जसलाई भण्डारी निकटस्थहरूले सामाजिक सञ्जालमा महत्त्व दिएर प्रचारप्रसार गरिरहेका छन् ।