पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको हो ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो ।

उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए । यसैगरी, २०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक थिए ।

पत्रकारिता र साहित्यमा चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गरेका छन् ।

गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उनलाई ५० हजार राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा हुन् ।

वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसे लामो समयदेखि कथा, उपन्यास र नाटकमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आएका थिए ।

बालकथा लेखनमा उनको उल्लेखनीय योगदान छ । ‘हराएको मूर्ति’, ‘किसानबाट शिक्षा’ र ‘चट्याङ्किको बाँदर’ नामक कथा सङ्ग्रहमार्फत उनले बालबालिकालाई जीवनका विविध पक्षहरू सरल भाषामा चिनाउने प्रयत्न गरेका छन् ।