विजया रेड्डीलाई उनकै कार्यालयमा जलाएर हत्या गरियो (भिडियो)


एजेन्सी – भारतमा एक पुरुषले एक महिलालाई जिउँदै जलाएर हत्या गरेका छन् । दक्षिण भारतीय राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी विवाद हुँदा एक पुरुषले सरकारी कर्मचारी महिला विजया रेड्डीलाई जिउँदै जलाएर हत्या गरेको भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमबार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो । उनलाई जोगाउन खोज्ने एक पुरुष कर्मचारीको पनि मङ्गलबार उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडियोमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ ।

प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ । ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ । सोमबार दिउँसो साढे १ बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो ।

उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ । रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए ।

ती मध्येका गुरुन्नाथामका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आयो तर त्यो भित्रबाट बन्द गरिएको थियो । विजया रेड्डीलाई बचाउन खोज्दा गुरुन्नाथामको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement