काठमाण्डु – राजधानी काठमाण्डुका विभिन्न स्थानबाट शुक्रबार २ वटा सवारीसाधनसहित चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे घर भई काठमाण्डुको टोखा बस्ने २४ बर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२–०३० प ५१५९ नम्बरको मोटरसाइकलसहित काठमाण्डुको टोखाबाट शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्रदेश ३–०२–००४ प ७५१५ रहेको मोटरसाइकल ललितपुरको बागडोलबाट हराएको भनी बागलुङको गलकोट नगरपालिका–४ बस्ने डेनियल पुनले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका परियारलाई सोधपुछ गर्दा मोटरसाइकल मकवानपुरको बकैया गाउँपालिका–५ घर भई ललितपुरको हरिसिद्धि बस्ने ३० बर्षीय सन्तलाल घिसिङबाट लिएको भनी बताएको हुँदा खोजी गर्ने क्रममा ललितपुरको पुल्चोकबाट बागमती प्रदेश ०२–०३० प १७४३ नम्बरको स्कुटर लिई हिँडिरहेको अवस्थामा घिसिङलाई समेत शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको छ ।
घिसिङले लिई हिँडेको स्कुटरबारे समेत सोधपुछ गर्दा स्कुटर काठमाण्डुको टोखा नगरपालिका–९ स्थित विनायक हस्पिटल अगाडिको पार्किङबाट हराएको भनी खोटाङका शिवकुमार बस्नेतले निवेदन दिएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजयबहादुर राउतले जानकारी दिए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गरेका छन् ।
हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया