दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त, परिणाममुखी काम गर्न मन्त्रीको निर्देशन

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त, परिणाममुखी काम गर्न मन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले सोमबारै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

नियक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिँदै परिणाममुखी काम गर्न निर्देशन दिए ।

सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्नसक्ने विश्वासका आधारमा अध्यक्ष पदमा छनोट गरेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले नियामक निकायका प्रमुखका हैसियतले उल्लेखनीय भूमिका निर्वाह गरी सूचना र सञ्चारका क्षेत्रमा उदाहरणीय काम गर्न निर्देशन दिए ।

उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताए । सञ्चारमन्त्रीले वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढंगले अघि बढ्नुपर्ने खाँचो औँल्याए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रलाई अझ बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगतले नै लिने भएकाले काउन्सिलका तर्फबाट सकारात्मक हस्तक्षेप हुन आवश्यक रहेको बताए ।

उनले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको महत्वका बारेमा चर्चा गर्नुहुँदै नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष  घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमीकमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताए । अध्यक्ष घिमिरेले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका पक्षमा आफू रहेको स्पष्ट गर्दै सञ्चार मन्त्रालयसहित सरोकारवाला निकायसँगको सहयोग, सहकार्यमा र समन्वयमा गुणस्तरीय एवं सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।