नेपाल सुपर लिगको सम्झौता रद्ध गरेर विमल घर्तीमगर लागे अष्ट्रेलियातर्फ


काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन घर्तीमगरले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement