हामी एक चीन नीतिप्रति दृढ छौं : उपाध्यक्ष घिमिरे

हामी एक चीन नीतिप्रति दृढ छौं : उपाध्यक्ष घिमिरे


काठमाण्डु – राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन् ।

चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८औं चीन –दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सधैं दृढ रहेको बताए ।

नेपालमा पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रहिआएको बताउँदै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच दौत्य सम्बन्ध कायम भएपश्चात चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताए । ‘व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हाँसिल गरेका उपलब्धिहरूबाट नेपाल पनि प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुँदै आएको छ,’ उनले भने, ‘हामी एक चीन नीतिप्रति दृढ छौं, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीहरूबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु ।’

चीनले नेपालका बहुआयामिक क्षेत्रहरूमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दैै उनले चीन हाम्रो एक महत्त्वपूर्ण व्यापार साझेदार मुलुकको रूपमा रहेको बताए ।

चीनले विद्यतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको देखिन्छ भन्दै उपाध्यक्ष घिमिरेले चीनको प्रगतिले नेपालको यातायात क्षेत्र समेत लाभान्वित भएको बताए । उनले नेपालमा आयात हुने अधिकांश विद्युतीय गाडीहरू चिनियाँ रहेको जानकारी गराए ।

चीनबाट बर्सेनि उल्लेख्य संख्यामा पर्यटकहरू नेपाल आइरहेको र धेरै नेपालीहरू भाषा, सीप विकास र उच्च शिक्षाका लागि चीन गइरहेका कारण एकअर्काको प्रविधि, सीप र संस्कृति लगायतका विषयहरू जान्ने अवसर सिर्जना भएको भनाइ उपाध्यक्ष घिमिरेको थियो ।

नेपालमा २०८० कात्तिक १७ गते बारेकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन चिनियाँ स्रोत र प्र्रविधिको हस्तान्तरण हुने विश्वास पनि उपाध्यक्ष घिमिरेले व्यक्त गरे ।

काठमाण्डु–कुन्मिङको सिधा उडान सम्पर्कले यात्रालाई छरितो बनाइ दुवै देशको संस्कृतिको आदान–प्रदान र पर्यटकीय गतिविधिमा सहजता थपेको चर्चा गर्दैैै उनले लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनसँग सिधा उडान स्थापना गर्न सक्दा २ देशबीचको पर्यापर्यटनको माध्यमबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अझ थप बलियो हुने विश्वास पनि व्यक्त गरे ।