काठमाण्डु – पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरूले राख्दै आएको माग जायज रहेको बताएका छन् ।
मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीसमक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरूको माग जायज रहेको बताए ।
उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेता निधिले अर्थतन्त्रसँग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए ।
उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिताको वस्तु भन्न नसकिने बताउँदै सम्पत्ति र विलासिताको वस्तु दुवै अलग–अलग कुरा रहेको स्पष्ट पारे ।
नेता निधिले सुनचाँदीमा विलासिता कर र मूल्य अभिवृद्धि कर दुवै नलाग्नुपर्ने बताए । सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीको समस्या समाधान गर्नुपर्ने उनले बताए ।
बजेटमा समावेश भए पनि अहिलेको लागि विलासिता कर लागू नगर्न उनले सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया