अब नेपालमा राजतन्त्र फर्किनेवाला छैन : नेता निधि


काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्किने बताएका छन् ।

होम अप्लायन्सेसको शाखा उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैन । गणतन्त्र नेपाली जनताले ल्याएको हो । यो निरन्तर रूपमा कायम रहन्छ । काठमाण्डुको कुनै गल्ली र चोकमा यसो जुलुस निकालेर केही हुँदैन ।’

नेपाली जनताले बलिदान गरेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली निरन्तर रहने बताए ।

उनले भने, ‘अहिले सबै राजनीतिक पार्टीले ७ वटै प्रदेशलाई प्रहरी संगठन दिने पहिलो काम गर्नुपर्नेछ । ७ वटै प्रदेशमा उसको आफ्नो कर्मचारी प्रशासन हुनुपर्‍यो, यो २ वटा काम तत्काल आवश्यक छ । यसका लागि मधेश प्रदेशले धेरै पहिलादेखि आवाज उठाउँदै आएको छ । यो संविधानमा लेखिएको काम नै हो ।’

प्रदेशमा कुनै कम्पनी खोल्नुपर्‍यो भने काठमाण्डु जानु नपरोस्, प्रदेशकै राजधानीमा त्यसको फैसला होस् भनेर त्यसका लागि स्थानीयस्तरमै कर्मचारी प्रशासन चाहिने उनले बताए । सकेसम्म आफ्नो देशमा नै रोजगारी गर्नुपर्नेमा जोड दिँदै उनले बाहिर गएर सिकेका सीप नेपाल आएर सदुपयोग गर्न सकिने बताए ।

पढेर बाहिर गएर काम गर्ने प्रचलन बढेको भन्दै नेता निधिले आफ्नो स्थानमा त्यही शिक्षा प्रयोग गरेर खेतीको आधुनिकीकरण गर्ने, उत्पादनमूलक काम र व्यवसाय गर्ने चलन नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement