विमानस्थल भन्सारको त्रुटि रोक्न सशस्त्र खटाइयो

विमानस्थल भन्सारको त्रुटि रोक्न सशस्त्र खटाइयो


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए।

“अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ”, उनले भने।

विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए।

पछिल्लोपटक विभिन्न समयमा विमानस्थलबाट अवैध सुन भित्रिरहेको र सुरक्षा कमजोरी रहेको सरोकारवाला निकायहरूले नै बताउँदै आएका थिए।