विमान दुर्घटनामा निधन भएकाको स्मरणमा माइतीघरमा दीप प्रज्वलन


काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

स्वास्थ्यकर्मीको संगठन सक्षम फाउण्डेशन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

फाउण्डेशनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

फाउण्डेशनका अध्यक्ष डा सिके सिंहले उक्त दुर्घटनामा परी ठूलो संख्यामा चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपुरणीय नोेक्सान भएको बताउनुभयो । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा हिजो भएको सो विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो भने सो दुर्घटनामा परी घाइते भएका तथा २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच नेपाल ल क्याम्पसका विद्यार्थीले पनि त्यहाँ मैनबत्ती बालेर शोक मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement