काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बनेको टिप्प्णी गरेका छन् ।
संसद्मा कांग्रेस ८८ बाट ३८ सिटमा खुम्चिनुमा विशेष महाधिवेशन नै जिम्मेवार रहेको आरोप निधिले लगाएका छन् ।
पार्टी इतर समूहको काठमाण्डुमा जारी राष्ट्रिय भेलाको दोस्रो दिन शुक्रबार राजनीतिक प्रतिवेदन तथा प्रस्ताव समितिका
संयोजक निधिले प्रस्तुत गरेको प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ अवस्थामा पु¥याइएको उल्लेख छ ।
‘कांग्रेसलाई यस्तो निरीह अवस्थामा पुर्याउने काम अवैध रुपले गरिएको विशेष महाधिवेशनका कारण नै हो,’ उनले प्रतिवेदनमा भनेका छन् ।
‘विधिसम्मत, स्वभाविक प्रक्रिया र इतिहासलाई क्षतविक्षत पार्दै महामन्त्रीद्वयबाट २०८२ पुसमा अनधिकृत रुपमा विधान विपरित अराजक, अवैधानिक र षड्यन्त्रमूलक ढंगबाट तथाकथित विशेष महाधिवेशन गरी १४औं महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिलाई विघटन गरियो । महामन्त्रीले आफैंलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भएको छ ।
यदि यो भतभेदलाई तत्कालै मेट्न सकिएन, समझदारी कायम गर्न सकिएन र विधान अनुकुल पार्टी सञ्चालन गर्न सकिएन भने नेपाली कांग्रेस दुर्घटनाग्रस्त हुनेछ र लोकतन्त्रको भविष्य थप अन्धकारमय हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ।
‘यसै पनि अहिले राष्ट्रिय राजनीति अत्यन्त कठिन अवस्थामा छ । यस्तो बेला सबैभन्दा पुरानो, लोकतन्त्रकाप्रति प्रतिबद्ध र ऐतिहासिक परिवर्तनको संवाहक कांग्रेसमा विग्रह ल्याउनु राष्ट्रकै लागि पनि दुर्भाग्यपूर्ण हुनेछ, उनले भनेका छन् ।
विशेष महाधिवेशनको माग र त्यसलाई अघि बढाउने प्रक्रियामाथि प्रश्न उठाउँदै उनले पार्टीको नेतृत्व परिवर्तन नियमित र विधिसम्मत प्रक्रियाबाट हुनुपर्ने धारणा राखेको छ ।
विशेष महाधिवेशनका लागि कतिपय केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको नक्कली हस्ताक्षर गराइएको आरोप पनि लगाइएको छ ।
‘हस्ताक्षर र संख्या सार्वजनिक हुने भयले तीनचार दिन लम्ब्याएर सर्वसम्मत नेतृत्व चयन गराउने नाटक मञ्चन गरियो । निर्वाचन भएको भए संख्या र हस्ताक्षरबारे पोल खुल्ने थियो,’ प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनका लागि उमेदवारी दिने अघिल्लो दिन यसरी नेतृत्व परिवर्तन गर्दा कांग्रेसमा गम्भीर मतभेद चुलियो ।’
निधिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन आयोजना गरिने स्पष्ट पारे । उनले महाधिवेशन सम्पन्न गरी त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरिने बताए ।
‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले १५औँ महाधिवेशनको आयोजना गर्नेछौँ भन्ने हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ,’ निधिले भने ।




प्रतिक्रिया