मन्त्री बिना मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण


कञ्चनपुर–  खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छन्।

सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराएकी हुन्।

मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराइन्।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताइन्।

`भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ,´ उनले भनिन, `सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ।´

गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताइन्।

`समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,´ उनले भनिन, `शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ।´ विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement