खानेपानी मन्त्री मगरको एक वर्षे कार्यकाल : ५ सय १८ वटा खानेपानी आयोजना सम्पन्न


काठमाडौं– कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको चुनाव जितेर आएकी भएकी बिना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी  सम्हालेकाे ११ महिना पुगेको छ ।

मगर २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको हो । उहाँ खानेपानी मन्त्रीमा नियुक्त भएकाे २५ दिन पछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकियो । २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भयो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भन्यो ।

मेलम्ची आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यो ११ महिनाको अवधिमा मेलम्चीको काम धेरै अगाडि बढ्यो । २७ वर्षदेखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको एघार महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्।

वर्षौ वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब १ किलो मिटर पनि छैन । २७ किमी लामो सुरुङको फिनिसिङ गर्ने काम गएको एघार महिनामा यति धेरै हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो। मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको छ।

अहिले सरकार गठन भएको एक वर्ष पुगेको छ। यो एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न गरिसकेका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनाहरु मध्ये १ सय १० आयोजनाहरु सम्पन्न भईसकेका छन् । जसबाट १ लाख ८३ हजार ४५५ जनसंख्या लाभान्वित भएका छन् ।

विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् ।

सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लावारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा र पर्सामा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । त्यसैगरी यो एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

यो एक वर्षको अवधिमा ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । उता भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापना कार्य सम्पन्न भईसकेको छ । यी आयोजनाहरुबाट १ लाख ५२ हजार २१४ जनसंख्या लाभान्वित भएका छन् ।

गएको एक वर्षको अवधिमा मन्त्रालयले खानेपानी आयोजनाहरुको निर्माण बाहेक अन्य थुप्रै कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ । जसमा एक वर्षमा १७ जिल्लाहरु खुला दिसा मुक्त घोषणा भई हालसम्म ६३ जिल्लाहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् ।
त्यस्तै यो अवधिमा एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको छ ।

काठमाडौं उपत्यकाका हकमा मन्त्रालयको निर्देशनअनुसार काठमाण्डौ उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको भौतिक प्रगति यस अवधिमा २० प्रतिशत थप भइ करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा जम्मा ४५ किलोमिटर मध्ये ११ दशमलब ०९ कि मि ढल बिछ्याउने कार्य सम्पन्न भएको छ । ललितपुरको बालकुमारी (कोड्कु) स्थित १ करोड ७५ लाख लिटर प्रतिदिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास समेत भएको छ ।

यस अवधिमा काठमाण्डौं उपत्यका भित्र चार हजार धारा वितरण गरी करिब ४० हजार जनसंख्या लाभान्वित भए । काठमाण्डौ उपत्यका भित्र खानेपानीको वितरण प्रणालीबाट वितरण हुन नसकेका स्थानहरुमा निशुल्क रुपमा ४ हजार ३ सय ३० ट्यांकर खानेपानी वितरण गरियो ।

यस अवधिमा राजविराज, लाहान र नेपालगंजमा ४५० घन मिटर क्षमताको पानी पोखरीको निर्माण कार्य सम्पन्न भयो भने काठमाण्डौ उपत्यका बाहिरका २४ वटा सहरहरुमा थप ६ हजार निजी धारा वितरण गरी ३५ हजार जनसंख्या लाभान्वित भए ।

खानेपानी मन्त्रालयले यस अवधिमा केही उल्लेखनीय कार्यहरु गरेको छ जस अन्तर्गत पहिलोपटक ढल नीति तयार भई स्वीकृत भईसकेको छ । यो ढल नीति अनुसार प्रशोधन गरेर मात्रै ढल मिसाउन पाईने र ढलको प्रशोधन अनिवार्य गर्नुपर्ने उल्लेख छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार भएको छ । पहिलो पटक मन्त्रालयले खानेपानीको क्षेत्रमा मुल ऐन बनाएको हो । यो विधेयक स्वीकृत हुने अन्तिम तयारीमा रहेको छ ।

संघ अन्तर्गत राष्ट्रिय महत्वका ठूला खानेपानीका आयोजनाहरुमा लगानी जुटाउने विषयमा केही विदेशी कम्पनीहरुसँग छलफल र परामर्श भएका छन् । भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको छ ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले खानेपानी मन्त्रालय गठन गरेको हो । यो मन्त्रालय गठन भएको ३ वर्ष पुरा भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement