विनोद चौधरीको मनपरीः गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउँदा स्थानीयको बिचल्ली


काठमाण्डु- ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीय वासीहरु मारमा परेका छन् । डलर अर्बपति तथा सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीयहरु मारमा परेका हुन् ।

चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छन् । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको जनाइएको छ ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय मानिस घाइतेसमेत भएका छन्।  हिजो राति पीडित बनेका आधा दर्जन घरधनी र स्थानीय विरोधमा स्थानीयहरु उत्रिएका हुन् । विनोध चौधरीले गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको स्थानीयहरुको आरोप छ ।

गैरकानुनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्याउने काम गरेको भन्दै चौधरीमाथि स्थानीयहरु खनिएका छन् । ललितपुर महानगरले चौधरीको कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति नलिई काम थालेको महानगरले जनाएको छ ।

आफ्नो मनमानी ढंगले विनोध चौधरीले अपार्टमेन्ट बनाउन थालेपछि महानगर कारबाही गर्न एक्सनमा उत्रिएको छ । यसैबीच आइतबार विहान महानगरका प्रमुख चिरीबाबु महर्जनले चौधरीसँग यसबारे छलफल गरेका छन् ।

चौधरीलाई मेयर चिरीबाबुले छलफल गर्न महानगरमै बोलाएका थिए । चौधरी र मेयर चिरीबाबुबीच आज बिहान गैरकानुनी ढंगले बनाउदै गरेको अपार्टमेन्टले स्थानीयको निजि सम्पत्तिमा पुगको क्षतिबारे छलफल भएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् ।

‘आज बिहान मेयर ज्युले विनोध चौधरीलाई कार्यालय मै बोलाएर भेट्नु भएको छ । उहाँहरुबीच गैरकानुनी ढंगले बनाउदै गरेको अपार्टमेन्टले स्थानीयको निजि सम्पत्तिमा पुगको क्षतिबारे भएको बुझिएको छ ।’, उप मेयर बज्राचार्यले भनिन् ।

उनले महानगरले विनोध चौधरीलाई गर्ने कारबाहीबारे भने खुलाउन चाहिनन् । उनले खुलाउन नचाहे पनि चौधरीलाई कारबाही गर्ने महानगरको तयारी छ । मेयर चिरीबाबुले क्षती भएका स्थानीयहरुलाई चौधरीबाट क्षतीपुर्ति दिलाउने आश्वासन दिएका छन् ।

पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न सांसद तोसिमाको माग

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले समिट अपार्टमेन्ट बनाउने कम्पनीलाई कारबाही गर्न माग गरेकी छन् ।

शनिबार बिहान भासिएको घरहरूको निरीक्षण गरेपछि पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न सांसद तोसिमाले माग गरेकी हुन् । सांसद कार्कीले यसबारे आफूले मेयर महर्जनसँग पनि कुरा गरेको बताइन ।

त्यस्तै उनले स्थानीयहरुलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । सांसद तोसिमा गत मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement