काठमाण्डु – यस वर्षको वैशाखपछि शुक्रबारसम्मको अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि शुक्रबारसम्मको अवधिमा २ हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिइन् ।
प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा ३ हजार ९२ घर प्रभावित भएको जनाइएको छ । प्राधिकरणले सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना र सर्पदंश तथा चट्याङबाट १४–१४ जनाको मृत्यु भएको छ ।
यस्तै हुरीबतासबाट १३, जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । अन्यमा बाढी, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन् ।
त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, चट्याङका १६०, जनावरको आक्रमणका ११४, पहिरोका १२७ र वन डढेलोका १७९ घटना भएका छन् ।
प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लमा ३१ वटा विपद्का घटना भएको र ती घटनामा परेर ४ जना घाइते भएका जानकारी दिए ।




प्रतिक्रिया