काठमाण्डु– पछिल्लो ३ महिनामा विपद्का घटनामा परि झण्डै २ सय जनाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
सर्पदंशका कुल ७ सय १६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन्। यसबाट ७ सय १८ परिवार प्रभावित बनेका छन्।
यस अवधिमा पहिरोका ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन्। ५ सय ८६ परिवार प्रभावित भएका छन्।
यस्तै बाढीबाट ४ सय ५० परिवार प्रभावित भएका छन्। ४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन्। १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन्।
चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन् भने २ सय ७७ परिवार प्रभावित भएको छ। लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन्। ५६ परिवार प्रभावित भएको छ।
आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको मृत्यु र १ सय ३९ जना घाइते भएका छन्। १ हजार १ सय ३३ परिवार प्रभावित भएका छन्।
जनावर आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको मृत्यु र १ हजार २ सय २० जना घाइते भएका छन्। ३ सय ४२ परिवार प्रभावित छन्। २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन्।
यसबाहेक भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना, विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको मृत्यु भएको छ। असिना र भूकम्पका कारण मानवीय क्षति नभए पनि क्रमशः १ र ३ परिवार प्रभावित भएका छन्।




प्रतिक्रिया