तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो ।

सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

‘मिडियामाथिको धरपडक, अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर दिएको राष्ट्रियताविरोधी अभिव्यक्ति, न्यायालयमा सरकारकै संरक्षणमा भएको बिचौलियाको बिगबिगी, बाढी प्रभावितको पुनस्र्थापना र प्रभावित क्षेत्रका विकास पूर्वाधारको पुनःनिर्माणलगायत राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न यथाशीघ्र संघीय संसदको बैठक बोलाउन माग गर्ने निर्णय भएको छ’, दुलालले काठमाण्डु पाटीसँग भने ।


बैठकले शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही माग गरेको छ ।

बैठकमा कांग्रेससहित एमाले, नेकपा, राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाका प्रतिनिधि सहभागी थिए ।

कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र कमला पन्त, एमालेबाट उपनेता पद्माकुमारी अर्याल तथा नेकपाबाट वर्षमान पुन, प्रमेश हमाल र प्रमुख सचेतक दुलाल सहभागी थिए ।

त्यस्तै राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली र लोसपाबाट अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा उपस्थित थिए । जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाको प्रतिनिधित्व राष्ट्रिय सभामा मात्र छ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले निजी क्षेत्र, कर्मचारी र सञ्चार क्षेत्रलाई तर्साउने गरी सरकारका तर्फबाट भइरहेका गतिविधि तथा न्यायालयमा देखिएका विकृतिबारे विपक्षी दलहरूको एउटै आवाज हुनुपर्ने बताएका थिए ।