एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधानका लागि सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै गर्गसले सैन्य समाधानले संकटलाई थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने बताए। अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट समाधान ननिस्किए गम्भीर परिणाम आउन सक्ने उनले चेतावनी दिए ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावबारे वार्ताका लागि इरानी प्रतिनिधिमण्डल कतारमा रहेको जानकारी दिएका छन् । उनले इरान कूटनीतिक पहल र आत्मरक्षा दुवैका लागि तयार रहेको बताए ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धका क्रममा युएईले तीन हजारभन्दा बढी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सामना गरेको थियो । त्यसयता खाडी मुलुकहरूले आफ्नो रक्षा क्षमता विस्तारमा अर्बौं डलर खर्च गरेका छन् ।
बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जायानीले इरानले समुद्री मार्ग, हवाई क्षेत्र र सञ्चार पूर्वाधारलाई लक्षित गरेर क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको आरोप लगाए । अन्तर्राष्ट्रिय सुरक्षा अध्ययनसम्बन्धी संस्था आइआइएसएसका अनुसार युद्धको उत्कर्षमा इरानले बहराइनतर्फ करिब पाँच सय ड्रोन र दुई सय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
सम्मेलनमा खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रबीच साझा रक्षा रणनीतिको अभावलाई पनि प्रमुख सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो । गर्गसले गम्भीर सुरक्षा संकटका बेला खाडी मुलुकहरू सामूहिक रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै क्षेत्रीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया