सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहमाथि धावा बोल्दै प्रहरी, १७ जना पक्राउ (नामावलीसहित)


काठमाडौं–सरकारले मन्त्रिपरिषद् बैंठकबाटै निर्णय गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रहरी धावा बोल्न थालेको छ।

नेपाल प्रहरीको विशेष ब्युरोले काठमाडौं उपत्यकाबाट मात्र १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको जनाएको छ।

१० फागुनमा नख्खुस्थित एनसेल मुख्यालय बाहिर बिस्फोट भएको थियो, भने मुलुकका अन्य क्षेत्रमा पनि एनसेल लक्षित बम विस्फोटनका घटना भए। काठमाडौं घटनामा एक जनाको ज्यान समेत गएपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्धको निर्णय गर्दै राजनीतिक व्यवहार नगर्न प्रहरीलाई स्पष्ट निर्देशन दिइयो।

सरकारको निर्देशनसँगै प्रहरीले उक्त समूहका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ र ब्युरो सदस्य सूर्य भुजेलसहित १७ जना नेता–कार्यकर्तँलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार कार्कीलाई राज्यविरुद्धको अपराध र भुजेललाई बिस्फोट तथा कर्तब्य ज्यान मुद्दामा कारबाही अघि बढेकोमा अन्य १५ जनालाई सार्वजनिक हितबिरुद्धको कसुरमा कारबाही भइरहेको छ।
को को पक्राउ परे

महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ब्युरो र जिल्ला सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र विद्यार्थी नेता रहेका छन्।

– राजु कार्की, जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी, अर्जुन गोतामे, रविन केसी, वीरेन्द्र नेपाली, विपिन लामा, नवीन बिष्ट, विमला भण्डारी, गौरी धामी, रुक्मणि पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । विप्लव समूहमाथि प्रहरी मात्र होइन नेपाली सेनाको टोली पनि सूक्ष्म निगरानी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement