विप्लवको बन्दमा बमको त्रास : कहाँ के–के भयो ?


काठमाडौैं – नेत्रविक्रम चन्द ‘विप्लव’ को बन्दले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा सामान्य प्रभाव परेको छ । आज काठमाडौंमा सार्वजनिक यातायात कम चल्नुका साथै धेरैजसो शैक्षिक संस्थामा पठन पाठन ठप्प भएका छन् ।

यस्तै देशका अन्य भागमा पनि सार्वजनिक यातयात, बजार तथा शैक्षिक संस्थामा बन्दको प्रभाव पर्दा जनजीवन प्रभावित भएको छ ।

बन्दका क्रममा काठमाडौं उपत्यकासहित मुलुकभर दुई दर्जनभन्दा बढी ठाउँमा शंकास्पद वस्तु फेला परेका र अहिलेसम्म कतै क्षति भने नभएको प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

काठमाडौंको कीर्तिपुरको नयाँ बजार गेटनजिक शंकास्पद वस्तु फेला परेको छ । रातो कपडाले बेरिएको वस्तु खोलेर हेर्दा मिनरलवाटरको बोतरमा माटो भरिएको पाइएकाे थियाे ।

यस्तै जावलाखेलमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्रसिंह धानुकले उक्त वस्तु विद्यार्थीको झोला भएको र भित्र खोलेर हेर्दा किताब भएको बताए ।

रामेछापकाे सदरमुकाम मन्थलीनजिकै ग्यास सिलिन्डरर पड्किएको छ । बिहान २ बजेतिर मन्थली बसपार्कभन्दा केही माथि पाखामा उक्त विस्फोट भएको हो । घटनास्थल बसोवास क्षेत्रभन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराका तीन ठाउँमा बम भेटिएका छन । विजयपुरको पुलपारि ओरालोमा प्रेसरकुकर बम फेला परेको हो । यस्तै पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा पनि सकेट बम फेला परेको प्रहरीले जनाएको छ । बमलाई नेपाली सेनाले निस्क्रिय बनाएको छ ।

 मोरङमा पनि प्रेस कुकर बम फेला परेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा रातो कपडाले बेरेर राखिएको उक्त बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगेको छ ।

त्यस्तै काभ्रेको पनौती ७ स्थित ढुंखर्क बस स्टप र खोपासी मार्गको रोशी खोला पुलमा दुईवटा प्रेसरकुकर बम भेटिएका छन् । उक्त बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ ।

नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement